बन्दीपुर केबुलकारः पाँचतारे होटलको सुविधा, ५० रुपैयाँ देखि २५ हजारसम्म टिकट

27 Chaitra, 2080

बन्दीपुर केबलकार एण्ड टुरिजमले बन्दीपुर गाउँँपालिका वडा नम्बर ४ मा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण गरेको छ ।

बन्दीपुर केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो । ५६ करोड रुपैयाँको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । १ वैशाख बाट होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ । बन्दीपुर–४ स्थित केबलकारको माथिल्लो स्टेशनमा निर्माणधीन सत्र तलाको ‘क्वीन टावर’ को काम पनि अन्तिम चरणमा पुगेको छ ।

पाँचतारे होटलसँगै केबलकार पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माणलाई तिव्रता दिइएको कम्पनीका अध्यक्ष शर्माको भनाइ छ । अन्तराष्ट्रियस्तरको ‘क्यूए सर्टिफिकेट’ लिने कार्य बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको कम्पनीले जनाएको छ । एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलकोन गर्दै केबलकारबाट पर्यटकले आनन्दका साथ यात्रा गर्न सक्नेछन् ।

उनका अनुसार केबलकारको २१ डिब्बा यात्रु बोक्न, ६ वटा रेष्ट्रो क्याबिन र २ वटा एड्भेन्चर गरी २९ डिब्बा छन् । एक डिब्बामा ८ जनासम्म बोक्नसक्ने क्षमता छ । केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । न्यूनतम ५० देखि २५ हजारसम्म टिकट शुल्क तोकिएको छ । पृथ्वीराजमार्गमा रहेको तल्लो स्टेशनबाट माथि स्टेशनको बन्दीपुर बजारस्थित कलेजमा पढ्न जाने र आउने विद्यार्थीलाई ५० रुपैयाँ, पत्रकारलाई ३५० र अन्य यात्रुका लागि ५०० देखि २५ हजार रुपैयाँ सम्म शुल्क लाग्ने कम्पनीले जनाएको छ ।